Tuesday, July 29, 2014

बासका सहयात्रीहरु


कथित बिलाशी जीवन बिरुद्ध हाम्रो यात्रा

नमस्कार शाह
हिँजो, अस्ति जस्तै लाग्छ, हवाई पत्रिकाको चलन चलिरहेका बेला मैले क्लबको बैठकमा हवाई पत्रिका प्रकाशन गर्नका लागि प्रश्ताव गरेको दिन । पछि हवाई पत्रिका नभई भित्ते पत्रिका प्रकाशन गर्ने भनेर निर्णय भई सोही पत्रिकाको निरन्तरता स्वरुप प्रकाशन गर्न थालेको असल शासनले १३ बर्ष नाघेको पत्तै भएन ।
२०५७ शाल माघ महिना तिर त्यति खेरको राजनितीशास्त्र असल शासन रेडियो श्रोता क्लबको बैठकले भित्ते पत्रिका प्रकाशन गर्ने निर्णय गरेको थियो । प्रकाशनका लागि भिम भण्डारीको नेतृत्वमा सम्पादन समूह गठन भएको थियो, मैले सहसम्पादकको जिम्मेवारी लिएको थिएँ । प्रजातन्त्र पश्चात थुप्रै खालका बिकृति हाबी हुँदै भ्रष्टाचार व्याप्त भएको महसुस गर्दै प्रजातन्त्र दिवसको अबसरमा २०५७ फाल्गुण ७ गते देखि पत्रिका प्रकाशन गर्ने जानकारी सहितको सुचना हामीले महेन्द्र बहुमुखि क्याम्पसमा टाँस्यौं, छोटो समयको अन्तरालमा हामीले प्राप्त गरेको लोकप्रियताका कारण हामीले आशा गरे भन्दा बढि रचनाहरु हामीले प्राप्त गर्यौं । सबैलाई स्थान दिन नसकेपनि धेरैलाई स्थान दिनु हाम्रो बाध्यता थियो । यो बाध्यताले पत्रकारिताको प पनि नजानेका हामीलाई फसाद पार्यो, र त पहिलो प्रकाशन न भित्ते पत्रिका भयो, न त पत्रिकानैं । एक पृष्ठमा असल अर्काे पृष्ठमा शासन, एक पृष्ठमा न्ययम न्य अनि अर्काे पृष्ठमा ख्भचलबलअभ भएर प्रकाशन भयो । व्यवस्थापनको जिम्मेवारी सहकर्मी निर्मल थापाले लिएका थिए, बिज्ञापन उठाएर पत्रिका प्रकाशन गर्नु दाँतले ढुँगा चपाए जस्तै भयो । पत्रिकाको पैंशा तिर्न नसकेर ७ गते बिमोचन हुने पत्रिका ८ गते मात्रै भयो, केही पैंशा पछि दिने भन्दा सबै पत्रिका जलाई दिने धम्कि प्रेस मालिकले दिए पछि सबैले उठाएर पहिलो अँकको पैंशा तिरेको घटना अझैं ताजै छ । यसरी पहिलो अँक प्रकाशित भयो, हामी आबद्ध भएको सँस्था प्रो पब्लिकले हामीलाई बधाई ज्ञापन गर्दै पुरस्कृत गर्यो, यता हामी भने सबै तितर बितर भईसकेका थियौं, किनकि हाम्रो ईण्टर लेभलको पढाईसकिसकेको थियो ।
मासिक रुपमा प्रकाशन गर्ने योजना यसरी थला परेपछि पुनः मेरो नेतृत्वमा २०५८ सालबाट पुनः सो पत्रिका त्रैमासिक रुपमा सुरुवात गर्यौं, जसको शुरुवाती दिनहरुमा अग्रज पत्रकारदाईहरु जयनारायण शाह, झलक गैरेहरुले पत्रिकाका प्रमुख समाचार लेखिदिएर हौसला बढाए, त्यसको लत्तगै पत्रकार रुपन ज्ञवालीले पत्रिकाको सम्पादन सहयोगीको रुपमा रहेर सहयोग गरे । यस क्रममा गणेश खडका लगाएतका साथिहरुले सहयोग गरेका थिए । यसले शुरुवातीका दिनहरु देखिनैं जानी, नजानी भ्रष्टाचारका बिरुद्ध आगो ओकल्न थालिसकेको थियो । यो देशभरबाटै प्रकाशन हुने पहिलो पत्रिका भएकाले देशै भर छरिएर रहेका असल शासन क्लबका साथिहरुले बिभिन्न रचना, समाचार, गतिबिधिहरु पठाउँथे, नियमित रुपमा सामाग्रि पठाउने साथिहरुमा कञ्चनपुरका राम ओली, रोल्पाका महेन्द्र रोका शिषिर, तनहुँका आदर्श शाही, नवलपरासीका नरनाथ पाण्डे लगाएत थिए । यहि क्रममा केही पत्रिका सहयोग स्वरुप प्रो पब्लिकले किन्ने गथ्र्याे ।
पछि गएर यसलाई ....सालमा मासिक बनायौं भने.....मा केही समय पाक्षिक, पुनः मासिक र ....देखि साप्ताहिक रुपमा निरन्तर प्रकाशन हुँदै आएको छ । लामो समय यसले बुलेटिनको रुपमा जीवन पायो । यस क्रममा यस पत्रिकासँग थुप्रै साथिहरु जोडिए, धेरै सहकर्मिहरुको सहयोग र मेहेनेतले आज असल शासन, असल शासन बनेको छ । मलाई सम्झना छ, केही अपवाद बाहेकका सबै सहकर्मिहरु अहिले असल पत्रकार हुन सक्षम भएका छन्, राष्ट्रिय, अन्तराष्ट्रिय स्तरका सञ्चार माध्यमहरुसँग आवद्ध हुन सफल भएका छन्, यहि पत्रिकाबाट पत्रकारिता शुरु गरेर पत्रकारितामा प्रगति गर्ने पत्रकारहरु धेरै छन् । यसलाई हामीले ठूलो उपलब्धिको रुपमा हेरेका छौं । म सँगै पत्रिका प्रकाशन थालनिका लागि कम्मर कस्ने त्यति खेरका व्यवस्थापक निर्मल थापा अहिले एक स्थापित लेखक बन्न सफल भएका छन्, बिजौला, युवक लगाएत उनका चर्चित उपन्यासहरु अहिले बजारमा आईसकेका छन्, साँग्रिला डायलग राष्ट्रिय साप्ताहिक पत्रिकाका सम्पादक समेत रहेका थापाले पत्रकारिताको क्यारियर यहि पत्रिकाबाट शुरु गरेका थिए । २०५८ सालमा कार्यकारी सम्पादकको रुपमा कार्य गरेका बालकृष्ण जोशीले नेपालका धेरै सञ्चार माध्यममा काम गरेर अहिले अमेरिकामा छन् । २०५९ सालमा पत्रिकाको व्यवस्थापकको रुपमा काम गरेका पूर्ण थापा अहिले कैलालीको पत्रकारितामा स्थापित छन् । त्यहि सेरोफेरोमा पत्रिकामा काम थालेकी सिता बोहराले पत्रिकाको प्रतिनिधि हुँदै, व्यवस्थापक, प्रबन्ध सम्पादकको सफल जिम्मेवारी सम्हालिन् भने अहिले पनि पत्रकारितामा सक्रिय छिन् । २०६० साल तिर पत्रिकाको प्रतिनिधि हुँदै सम्पादन सहयोगीको रुपमा काम गरेका ओबिराज आचार्य रेडियो पत्रकारितामा स्थापित भईसकेका छन् भने प्रतिनिधि हुँदै सम्पादन सहयोगी र पछि गएर सहसम्पादक समेत बनेका शम्भुराज रेग्मी राजधानीमा पत्रकारिता गर्दै स्थापित भईसकेका छन् । २०६० साल तिर साना समाचारमा बाईलाईन हाल्दा मसँग झगडा गरेका उमा थापा मगर र खड्क रावत अहिले पत्रकारितामा सक्रिय छन्, उमा त राष्ट्रिय स्तरका समाचार माध्यममा सक्रिय हुनुका साथै नेपाल प्रेस युनियनको केन्द्रिय सदस्य समेत भईसकेकि छिन् । २०६० सालमा रिक्त सहसम्पादकको पदमा ओबिराज आचार्य र शम्भुुराज रेग्मी प्रतिष्पर्धि भएपछि बिकल्पको रुपमा सहसम्पादकको जिम्मेवारी सम्हालेका कुमार श्रेष्ठ हाल नेपालगञ्जको पत्रकारितामा सक्रिय छन् । यहि पत्रिकाबाट पत्रकारिता शुरु गरेका लिल प्रकाश चन्द र कमल खत्रि दुबै राजधानीमा पत्रकारिता गरिरहेका छन् ।
रुकुमबाट प्रतिनिधिको रुपमा काम थालेका राजु लामिछाने, बिशेष प्रतिनिधि, सहसम्पादक हुँदै हाल कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् भने बिभिन्न छापा माध्यममा सक्रिय छन् । पत्रकारितामा अब्बल भाईराजा श्रीबास्तब, ईश्वर बि.क., प्रतिनिधि हुँदै प्रबन्ध सम्पादकको जिम्मेवारी सम्हालेका मन भण्डारी, प्रतिनिधि हुँदै हाल सहसम्पादकको जिम्मेवारी सम्हालिरहेका हेमराज भट्ट, प्रतिनिधिको रुपमा काम गरिरहेका सत्य प्रकाश यादब, छबिलाल सुनार यसै पत्रिकाका उत्पादन हुन् भन्दा फरक नपर्ला ।
लामो समय यहि पत्रिकामा प्रतिनिधि देखि सहसम्पादकको रुपमा काम गरेका माधब कार्की, उमा शर्मा लगाएतले यहि पत्रिकाबाट पत्रकारिता थालेका थिए । यहाँ उल्लेख गरिए बाहेक पनि धेरै सहकर्मिहरु छन्, जसले यसै पत्रिकाबाट आफ्नो भबिष्य कोरे ।

यस पत्रिकाका माध्यमबाट हामीले भ्रष्टाचारीहरु बिरुद्ध धावा बोल्यौं, लुकाईएका, कथिएका सुचनाहरु छताछुल्ल पार्यौं, धेरैका गोप्यताहरु भँग गर्यौं, जसबाट धेरैको निद हराम भयो । सिमित स्रोत, साधन, बिज्ञापनको साँघुरो बजारका बाबजुत निरन्तर प्रकाशन हुँदै आएको यो पत्रिकामा धेरै उतार चढाबहरु आए, धेरै बाधा, व्यबधानहरु भए, सहकर्मिहरु आए, गए तर पत्रिका आफ्नो मिसनमा डगमगाएन, कलम बाँगिएन, कलम थाकेन र त यो पत्रिका भ्रष्टहरुका लागि काउछो बन्यो भने सदाचारीको साथि ।
पत्रिका निरन्तर १३ बर्ष देखि समाजका बिकृति, बेथितीका बिरुद्ध खरो रुपमा उत्रिरहेको छ भने समाज बिकास र परिबर्तनका संबाहकलाई प्रोत्साहित गर्न चुकेको छैन । जागिर लगाईदिने बाहनामा यौन शोषण गर्ने अन्तराष्ट्रिय गैससका प्रमुखको नालिबेली देखि प्रेमिकाको जन्म दिनमा लाखौंको परियोजना उपहार दिने आईएनजिओका कर्मचारीका कर्ततुहरु सार्वजनिक गर्न पत्रिका पछि सरेन । अस्पतालमा रासलिला हुँदै गर्दाका तथ्यगत समाचार देखि कार्यालयमा बसि प्रेम पत्र ईमेल मार्फत आदान प्रदान गर्ने हाकिमहरु बिरुद्ध औँला ठड्याउने देखि अकुत सम्पत्ति जम्मा गरि शहरमा महल ठड्याउनेहरु, ठूलो धनराशि खर्चेर नक्कलि परिक्षार्थी राख्ने कथित बिद्यार्थी नेताहरु देखि पत्रकारिताको खोल ओढेर दलाली गर्नेहरुलाई समेत असल शासनको कलमले छाडेन ।
गरिबि निबारणका नाममा रकम ल्याएर कुम्ल्याउने गैससकर्मीहरुको प्रबृत्ति देखि जनताका आँखामा छारो हाली राजनिती गर्ने नेताको शैली सम्म, एचआईभि, एड्स नलागेकालाई सो रोग लाग्यो भनेर दाताहरुबाट डलर ल्याएर डलरको खेती गर्ने नामुद डाक्टर, मानब अधिकारवादी हौं भन्नेहरुबाट अर्काको ज्यान लिएका घटनालाई समेत हामीले छाडेनौं । समग्रमा पत्रिकाले जनता ठग्ने ठग, नागरिक झुक्याउने दलाल, कमजोर चेतना भएका जनताको सम्पत्ति चोर्ने चोर, नायकका नाममा रहेका खलनायक,  सार्वजनिक सम्पत्ति हिनामिना गर्ने फटाहा, जालीका बिरुद्ध पत्रिकाले खोईरो खनेकोछ ।
सार्वजनि सेवा प्रबाहलाई जबरजस्त मागि खाने भाँडो बनाउने सेवा प्रदायक, सार्वजनिक सम्पत्तिको अचाक्लि दोहन गर्ने टाठा, बाठा, जनताको अधिकारमा होलि खेल्ने अधिकारमा बसेका पहुँचवाला, शक्तिको दुरुपयोग गर्ने शक्तिमा रहेका प्रशासकहरु, जनतालाई झुठा आश्वासन दिएर देश चलाउँछु भन्ने राजनेताहरुका बिरुद्ध कलमका माध्यमबाट रखवारी गर्नु सहज बिषय पक्कै पनि थिएन, हामीलाई थाहा थियो, यो अदम्य साहस मात्रै होईन, ठूलो दुस्साहस हो भनेर । यहि असहज बाटोमा पत्रिका लाग्यो र पटक पटक भएका बिभिन्न घटनाहरुले हामीलाई पत्रिकाको कदम फलामको चिउरा चपाए सरह जस्तै भयो तर यात्रा अवरुद्ध भएन, अबिछिन्न अघि बढिरह्यो ।
सत्य तितो हुन्छ, हामीलाई थाहा छ तर अर्काे तथ्य पनि हामीलाई थाहा छ, सत्य यथार्थ हुन्छ, सत्य कसैका लागि तितो होस् त्यसले केही फरक पार्दैन, तर यथार्थ सार्वजनिक गर्यो भने त्यसले सबैलाई फरक पार्छ । यहि मूल मन्त्र हो —असल शासनको । सो क्रममा हामीले कसैसँग सम्झौता गरेनौं, मुकाबिला गर्यौं, सामन्तबादी सामाजिक सँस्कार र अधिकारमा बसेकाहरुसँग । यो क्रममा म लगाएत धेरै साथिहरु माथि साँघातिक हमलाहरु भए, कार्यालय घेरियो, बिभिन्न खाले प्रलोभन देखाईयो, धम्क्याईयो, पछ्याईयो, अहँ हामी गलेनौं । स्थानीय प्रशासनले पटक, पटक धम्कि सहितको स्पष्टिकरण माग्यो, १ पन्ने पत्रको उत्तर चार पन्ने दियौं तर प्रशासनसँग डराएनौं, हाम्रा बिरुद्ध अदालतमा मुद्धा हालिए, एकाध मुद्धा (त्यो पनि कानुन व्यवसायिको धोकाका कारण) बाहेक सबै मुद्धा हामीलेनैं जित्यौं । पत्रिकामा प्रकाशित भएका समाचारका कारण अन्तराष्ट्रिय, राष्ट्रिय, स्थानीय स्तरका छानबिन समितिहरु गठन भए, कतिका जागिर गए, कति सरुवा भए, डिमोसन भए, निलम्बित भए । यसको लेखाजोखा गर्न थाल्यो भने लामो फेहरिस्थ बन्न सक्छ । साराँशमा पत्रिकाले सामाजिक सुधारमा टेवा पुर्यायो, भ्रष्ट र अराजकहरुको आत्मसम्मानमा ठेस पुर्यायो । असलहरुको आत्मसम्मान अभिबृद्धि गर्यो ।
भ्रष्टहरुलाई शव्द बाण प्रहार गर्यौं, भित्तामैं पुर्यायौं, आकर्षक शिर्षक र फरक लेखाईबाट पाठकहरुको मन जित्न सफल भयौं तर पत्रकारिताको धर्म, मूल्य, मान्यता हामीले कहिल्यै भुलेनौं र भुल्ने पनि
छैनौं । जसरी असल उद्धेश्यका लागि काँडै, काँडा भएको बाटो हामीले रोज्यौं, त्यस्तै अझैं सयौं बर्ष माईन बिच्छेयाईएको बाटो रोज्न तयार छौं । भ्रष्टहरुको दमित र मक्किएको मनोबिज्ञानलाई नांगेझार पार्न तपाईंहरुको नैतिक समर्थनको खाँचोछ, बाँकी भ्रष्टहरुको कथित बिलाशी जीवनलाई सडक सम्म ल्याउन हाम्रो कलम गोलि साबित त हुनेनैछ ।